Tuesday, November 03, 2026

चम्चिय पद्धति : अलगोरिदमले थप मौलाइरहेको नेपाली संस्कृति

 This the unedited pre-print version. the Edited and published version is available at TechPana.com. 

सारांसः

-     नेपाली समाजले व्यङ्ग्यात्मक रूपमा चम्चाको चरित्रलाई “चम्चागिरी” अर्थात् चाकरीतन्त्र वा स्वार्थपूर्ण सेवाकार्य भन्ने बुझेको छ ।

-     अवसरवादी तत्वले आप्नो फाइदका लागि शक्तिकेन्द्र पुज्नलाई गर्ने हर्कतहरूलाई “चम्चिय पद्धति” भनिन्छ ।

-      राजनीतिक बृत्तमा “झोले” भनझैं राज्यका हरेक निकायमा संलग्न अवसरवादीहरू चम्चाको रूपमा देखिन्छन्।

-      सामाजिक सञ्जचालमा अलगोरिदमले चम्चिय पद्धति थप हाबी हुँदा दिर्घकालमा राज्य र संस्थाको गरिमालाई जोगाउन सकिंदैन।

-      प्रविधिको सकरात्मक प्रयोग गरी जबाफदेहिता र पारदर्शिता कायम गरौँ, व्यक्तिगत लाभ भन्दा माथि उठेर देश र समाजको बारेमा सोच्दै सबै निकायहरूमा संस्थागत पद्धति कायम गरौँ ।

हरेक नेपालीका भान्सा, होटेल, रेस्टुरेन्ट आदिमा खानेकुरा चलाउन र खान, पिउनको लागि प्रयोग गरिने अति उपयोगी उपकरण हो “चम्चा” । तर नेपाली समाजमा व्यङ्ग्यात्मक रूपमा चम्चाको चरित्रलाई उजागर गरिन्छ, जसमा चम्चाको चरित्रलाई “चम्चागिरी” अर्थात् चाकरीतन्त्र वा स्वार्थपूर्ण सेवाकार्य भन्ने बुझिन्छ ।

हाम्रो समाजमा यस्ता पात्रहरू छन्, जसलाई कुनै औपचारिक पद, नियुक्ति वा परिचयपत्र आवश्यक पर्दैन । त्यस्तो पात्रको परिचय उसको बोली, व्यवहार र शक्तिकेन्द्र सँगको सामीप्यताले स्पष्ट पारिदिन्छ । ऊ जहाँ शक्ति हुन्छ, त्यहीँ देखिन्छ । जहाँ निर्णय हुन्छ, त्यहाँ उसको उपस्थिति हुन्छ । जहाँ अवसर देखिन्छ, त्यहाँ ऊ अगाडी हुन्छ । नेपाली समाजले यस्तो पात्रलाई व्यङ्ग्यात्मक ढङ्गले वा आक्रोशले एउटा नाम दिएको छ – “चम्चा” अर्थात् आलोचनात्मक चेत नभएको अवसरवादी तत्त्व ।

शक्तिको वरिपरि घुम्ने, हरेक कुरामा नेतृत्वको प्रशंसा गर्ने, प्रश्न नगर्ने र व्यक्तिगत लाभका लागि जहिले पनि स्वार्थपूर्ण सेवाकार्य गर्न तयार हुने राजनीति वा प्रशासनमा चाकडी गर्ने प्रवृत्तिले जब एउटा नियमित व्यवहारको रूप लिन्छ, त्यसलाई “चम्चिय पद्धति” भनिन्छ ।

पछिल्लो समय सामाजिक सञ्जालको अनियन्त्रित प्रयोग संगै  नेपाली समाजमा पद्धतिकै रूपमा विकास हुँदै गएको यो व्यवहार कुनै सिद्धान्त होइन र कुनै विश्वविद्यालयमा पढाइने विधि/प्रविधि पनि होइन। यो केबल हाम्रो राजनीतिक, सामाजिक र संस्थागत व्यवहारमा देखिने एउटा अनौपचारिक तर प्रभावशाली संस्कृति बनिसकेको छ ।

 

चम्चा कसरी बन्छ वा बनाइन्छ?

चम्चा जन्मजात बन्दैन। परिस्थिति, सङ्गत र वातावरणले जो कसैलाई चम्चा बनाउँदछ । जहाँ योग्यता भन्दा पहुँच, काम भन्दा निकटता र आलोचना भन्दा प्रशंसा हाबी हुन्छ, त्यहाँ चम्चिय पद्धतिको सुरुवात हुन्छ ।

सार्वजनिक पदाधिकारीका रूपमा होस वा राजनीतिक नेतृत्वका रूपमा शक्तिशाली व्यक्तिको वरिपरि केही मानिसहरूको समूह वा झुन्ड हुन्छन्। उक्त समुह आज-भोलि डिजिटल प्लेटफर्ममा अज बढि सशक्त देखिन्छ। उनीहरूका लागि नेतृत्वका हरेक निर्णय सही लाग्छ, हरेक अभिव्यक्ति दूरदर्शी लाग्छ र हरेक कम्जोरीको पनि कुनै न कुनै सकारात्मक व्याख्या गरिन्छ ।

पार्टी र पार्टी नेतृत्वका गलत राजनीतिक निर्णयहरू वा गतिविधिलाई अन्धभक्त भई साथ दिने कार्यकर्तालाई “झोले” भने जस्तै चम्चाहरूले आलोचनालाई वैचारिक असहमति भन्दा पनि आपराधिक गतिविधिले हेर्ने गर्छन् ।

बिस्तारै शक्तिकेन्द्रलाई पनि यस्तो वातावरण सहज लाग्न थाल्छ र आफूलाई आलोचना गर्ने भन्दा आफ्नो प्रशंसा गर्ने चम्चाहरूलाई विश्वासिलो पात्रका रूपमा नजिक राख्न रुचाउँछन् । यसरी चम्चा र शक्तिकेन्द्रबिच एउटा मौन सम्झौता हुने गर्दछ - “तपाईंलाई म सुरक्षित, आनन्दमयी र आदर्शवान् देखाउँछु, तपाईँले मलाई विश्वास गर्नुहोस्”, चम्चाहरूले दर्साउने यहिनै हो। यही सम्झौता नै चम्चिय पद्धतिको मुख्य आधार बन्दछ ।

 

राजनीतिमा चम्चिय पद्धति

राजनीति भनेको जनताको सेवा, विचारको प्रतिस्पर्धा, सार्वजनिक उत्तरदायित्व र पारदर्शिताको विषय बन्नु पर्नेमा जब यो विषय व्यक्ति प्रतिको निष्ठा, विचार र संस्था भन्दा माथि पुग्छ, चम्चिय पद्धतिले प्रवेश गरेको मान्दा हुन्छ ।

नेतृत्वको गलत कदम, निर्णय र गतिविधिहरूको आलोचना गर्न नसक्ने, निर्णयमाथि प्रश्न उठाउन डराउने र नेतृत्वको एकतर्फी रूपमा आधारविनाका प्रशंसा गर्नुलाई राजनीतिक संस्कार ठान्ने प्रवृत्तिले सङ्गठन भित्र निष्पक्ष बहस कमजोर बनाउँछ । त्यहाँ प्रणाली भन्दा व्यक्ति महत्त्वपूर्ण हुनेछ र विचारभन्दा व्यक्तिको निकटता महत्त्वपूर्ण हुनेछ ।

यस्तो अवस्थामा “कसले राम्रो काम गरेर देखाउँछ?” भन्दा पनि “कसले नेतृत्वलाई राम्रो देखाउन सक्छ?” भन्ने अनौठो प्रतिस्पर्धा सुरु हुन्छ । यसको परिणाम नेतृत्वलाई सुरुवाती चरणमा सुखद देखिएता पनि दीर्घकालीन रूपमा नेतृत्व आफै र संस्थाका लागि जोखिमपूर्ण हुने गर्दछ ।

ऐना वरिपरि राखिए पनि यदि सबै ऐनाले वास्तविक भन्दा फरक एउटै सुन्दर तस्बिर मात्र देखाए भने वास्तविक अनुहार कस्तो छ? भन्ने थाहा पाउन कठिन हुन्छ। चम्चाहरू सबैले अलगोरिदमनै सञ्चालन गरेर राम्रा भजन मात्र सामाजिक सञ्चालहरू मार्फत गाउँदा र अन्यलाई गालिगलौज मात्र गर्दा वास्तविक समस्या पहिचान हुन समय लाग्नेछ ।

 

राजनीति भन्दा बाहिर झन् व्यापक

यदि नेतृत्वले आफ्नो बारेमा असहमति जनाउने, प्रश्न गर्ने र कमजोरी देखाउनेलाई स्थान दिन्छ भने चम्चागिरी टिक्न कठिन हुन्छ । तर नेतृत्वको सत्य भन्दा प्रशंसा प्रिय लाग्ने प्रवृत्तिमा भने चम्चाहरूको बजार आफैँ विस्तार हुँदै जान्छ । चम्चिय पद्धतिमा चम्चा मात्र दोषी हुँदैनन्, चम्चा बनाउन खोज्ने प्रवृत्ति भएको नेतृत्व पनि त्यत्तिकै दोषी हुन्छन् ।

पछिल्लो समय चम्चिय पद्धतिलाई केवल राजनीतिक दलमा मात्र सीमित गरेर हेर्नु पर्याप्त हुँदैन । राज्यका हरेक निकायहरू जस्तै विश्वविद्यालय, प्रशासन, न्यायालय, सार्वजनिक संस्था, र जुनसुकै सङ्घ-संगठनमा पनि यसको उस्तै व्यापक रूप देखिँदै आएको छ ।

जहाँ शक्तिकेन्द्रको प्रशंसा गर्नु नै आफ्नो स्वार्थ पूर्ति गर्ने र भविष्य सुरक्षित गर्ने माध्यम ठानिन्छ, त्यहाँ स्वतन्त्र विचार कमजोर हुन्छ । जहाँ प्रश्न र सकारात्मक आलोचना गर्नेलाई “समस्या सिर्जना गर्ने” तत्त्वका रूपमा खडा गरिन्छ, त्यहाँ संस्थागत निर्णय क्षमता र गुणस्तरमा असर पर्दछ ।

 

चम्चिय शक्ति

चम्चाको आफ्नै शक्ति प्रायः न्यून हुने हुनाले आश्रित शक्ति मात्र हुने गर्दछ । वास्तविक शक्तिकेन्द्रको शक्तिलाई आफ्नो फाइदाको लागि सदुपयोग मात्र गर्ने हुनाले कुर्सी बदलिँदा चम्चाको भाषा बदलिन सक्छ, नेतृत्व बदलिँदा उसको निष्ठाको दिशा बदलिन सक्छ । यस अर्थमा चम्चिय पद्धति विचारको होइन, निकटताको पद्धति हो । किनकि चम्चिय शक्ति तब सम्म टिकिरहन्छ, जब संस्थागत प्रणालीले त्यस्तो व्यवहारलाई ठाउँ दिइरहन्छ ।

नियुक्ति, जिम्मेवारी, पहुँच, अवसर वा निर्णयमा योग्यता र पारदर्शिता भन्दा व्यक्तिगत निकटताको प्रभाव बढ्दै गए पछि त्यही समाजमा रहेर मूकदर्शक भएका क्षमतावान् व्यक्तिहरूको आफ्नो क्षमताप्रतिको विश्वास टुट्दै जानेछ र चम्चिय व्यवहार नै अनुसरण गर्नु पर्ने बाध्यता सृजना हुँदै जाँदा संस्था र समग्र राज्य सञ्चालनको चक्रनै अनियन्त्रित झुन्डको नियन्त्रणमा पर्दछ ।

 

चम्चिय पद्धतिले चुकाउनु पर्ने मूल्य

चम्चागिरीको व्यक्तिगत लाभ सम्बन्धित चम्चालाई त होला तर चुकाउनु पर्ने संस्थागत मूल्य दीर्घकालीन हुन्छ । जब चम्चिय पद्धति हाबी हुँदै जान्छ त्यसपछि योग्यता र प्रणाली माथिको विश्वास कमजोर हुँदै जान्छ, अनि संस्था भन्दा व्यक्ति ठुलो हुन्छ, संस्थागत स्मृति र प्रणाली कमजोर बन्दै जान्छ। अन्ततः सबैभन्दा ठुलो क्षति संस्थाले नै बेहोर्नु पर्दछ । किनकि चम्चिय पद्धतिमा गलत गतिविधिलाई जबरजस्ती राम्रो भनिदिने संस्कार बढी घातक हुन्छ ।

 

नेतृत्वले के चाहन्छ? हरेक कुरामा सहमति जनाउने चम्चा कि आवश्यक पर्दा असहमति राख्ने ऐना? असल नेतृत्वलाई ऐना चाहिन्छ । स्वर्गीय बी.पी. कोइरालाले आफ्नो राजनीतिक जीवन र राज्य सञ्चालनमा चम्चा भन्दा आलोचक, स्वतन्त्र सोच भएका र आवश्यक पर्दा विरोध गर्न सक्ने सहकर्मीलाई महत्त्व दिएका थिए ।

ऐनाले अनुहारमा धुलो छ भने धुलो नै देखाउँछ । नेतृत्वलाई त्यो अनुहार मन नपर्न सक्छ, तर सुधारका लागि सत्य र तथ्य आवश्यक हुन्छ । प्रत्येक व्यक्ति र संस्थालाई प्रशंसक भन्दा प्रश्नकर्ता, अनुयायी भन्दा विचारक र व्यक्तिगत निष्ठा भन्दा संस्थागत निष्ठा आवश्यक हुन्छ ।

 

चम्चिय पद्धतिबाट संस्थागत पद्धतितर्फ

चम्चिय पद्धतिको अन्त्य चम्चालाई रिस गरेर हुँदैन। जहाँ योग्यता, पारदर्शिता, कार्यसम्पादन र इमानदारितालाई प्राथमिकतामा राखिनेछ, त्यहाँ चम्चाको मूल्य घट्नेछ र व्यक्तिगत निकटता भन्दा संस्थागत नियम र प्रणाली बलियो हुनेछ । व्यक्तिगत प्रवृत्ति परिवर्तनशील हुने हुनाले प्रणाली बदल्ने बहस जरुरी छ ।

अन्तमा, चम्चिय पद्धति चम्चाहरूको मात्र समस्या होइन । यो शक्ति र अवसर वितरण गर्ने हाम्रो संस्कृतिको ऐना भइरहेको छ । जेन्जी आन्दोलन पछि देशको आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक, धार्मिक लगायत बहुपक्षीय क्षेत्रहरूमा सुधारको व्यग्र अपेक्षा गरिरहेको यो नेपाली समाजले प्रत्येक पार्टी, सङ्घ, संस्था र सार्वजनिक निकायको नेतृत्वलाई मनन गर्न अपील गरिरहेको छ ।

हामीले किन चम्चा उत्पादन हुने वातावरण सृजना गरिरहेका छौँ? र अझ गम्भीर प्रश्न - हामीलाई वरिपरि चम्चा चाहिएको हो कि ऐना? तशर्थः संस्था सुधारको लागि नीति-नियममा समस्या छ भने उक्त नीति-नियम यथाशिघ्र परिवर्तन गरौँ, जबाफदेहिता र पारदर्शिता कायम गरौँ, व्यक्तिगत लाभ भन्दा माथि उठेर देश र समाजको बारेमा अलगोरिदमको सकरात्मक प्रयोग संगै सबै निकायहरूमा संस्थागत पद्धति कायम गरौँ ।


No comments:

Post a Comment